मुलुकको जेठो अखबार गोरखापत्रका पहिलो सम्पादक को हुनुहुन्थ्यो ? यसको उत्तर गोरखापत्रसँग पनि छैन । पत्रकारिताको इतिहास खोजी गर्नेहरू थरीथरीका नाम लेख्छन् । त्यसबखत सम्पादक लेख्न अनुमति दिइएको थिएन । त्यसैले लेखिएन । खोजकर्ताहरूले चिरञ्जीवी पौडेललाई पहिलो सम्पादक भनेका छन् । नरदेवलाई पहिलो सम्पादक भन्नेहरू पनि छन् ।
त्यो बेला ‘प्रिन्ट लाइन’मा सम्पादकको नाम लेख्ने चलन थिएन । पहिलो अङ्क (१९५८ साल वैशाख २४ गते) को अन्तिम पृष्ठमा “कसैले मैले यो काम जाने को छु. जागिर पाँउ भन्न्येर एस ठाँउमा मैले धाउपाञा भनी भन्न आया. दामलिइ छापि दिन्छौं. सर्कार कोर. दुनिञाको. फाइदा हुन्या कुरा छपाउन ल्याया छापि दिन्छौं….कासि, कलकत्ता, वम्वइ, मथुरा, लखनऊ इत्यादि सहरमा छापियाको पुस्तक हरूपनि तललेखियाका ठेकानामा पाइन्छ” भनेर सम्पर्क व्यक्तिको नाम र ठेगानामा यस्तो उल्लेख गरिएको थियो– पं. नरदेव, मोतिकृष्ण शर्मा पशुपत–प्रेस, नेपाल.
माथिको विज्ञापनले पशुपत प्रेस र गोरखापत्रका जिम्मेवार व्यक्ति नरदेव तथा मोतिकृष्ण शर्मा भन्ने प्रष्ट हुन्छ । मोतिकृष्ण शर्मा को थिए ? १९९८ साल चैत २३ गतेको गोरखापत्रमा १९५० मा पशुपति छापाखानाको उद्घाटनसम्बन्धी प्रकाशित लेखमा पाशुपत छापाखानाका ‘म्यानेजर’ रिक्थदेव पाँडेले “…यो प्रेसमा मोति–कृष्ण भन्ने संयुक्त नामवाला म्यानेजर थिए । मोतिकृष्ण माने सुप्रसिद्ध साहित्यसेवी मोतिराम भट्ट र कृष्णदेव पाँडे हो । सर्वप्रथम गोरखापत्र प्रकाशित गर्ने प्रेस पनि यही हो…।” भनी लेख्नुभएको थियो । गोरखापत्रको प्रकाशनतर्फको ‘म्यानेजर’ नरदेव तथा छापाखानाका ‘म्यानेजर’ मोति र कृष्ण हुनुहुन्थ्यो भनी यकिनका साथ भन्न सकिन्छ । १९५८ साल वैशाख बदी ११ रोज २ को सनदमा “पण्डित नरदेव पाँडेले पुर्जी हेरी गोर्खाली अखबार हप्तावारी जम्मा एक हजार थान छापा गरी जारी गर्ने काम तिम्रा तालुकमा राखी बक्स्याको हुनाले…” उल्लेख हुनुबाट नरदेव गोरखापत्रको व्यवस्थापक भएकोमा द्विविधामा हुनु परेन ।