समकालीन दार्शनिक विमर्शमा ‘मानववाद’ (ह्युम्यानिज्म) को चर्चा गर्दा प्रायः युरोपेली पुनर्जागरणनिसृत भौतिकवादको एउटा भँगालाका रूपमा मात्र हेर्ने परिपाटी छ। पश्चिमा पदार्थचेती मानववाद ईश्वरकेन्द्रित मध्ययुगीन बद्ध आस्था कट्टरता (डग्मेटिक रिलिजन) को प्रतिक्रियास्वरूप उब्जिएको हो। यसले मानिसलाई मान्यताको केन्द्रमा त राख्यो तर मानिसहरूका स्नायविक मनश्चेतनाका आन्तरिक आयामहरूलाई पूरै उपेक्षा गरी मानिसको अस्तित्व एक सामाजिक, राजनीतिक र जैविक यन्त्रका रूपमा चित्रण मात्र गरेन, त्यसैमा सीमित राख्यो।
जोन डिउइलगायतका विद्वानहरूले सन् १९३३ मा अमेरिकामा ‘पहिलो मानववादी घोषणापत्र’ जारी गरेका थिए। त्यस घोषणापत्रले अध्यात्म र आन्तरिक चेतनालाई इन्कार गर्दै बद्ध आस्था (रिलिजन) निरपेक्ष भौतिकवादी मानववादको वकालत गरेको थियो। यता त्यसभन्दा पाँच वर्षअघि नै अर्थात् सन् १९२८ (वि.सं. १९८५) मा बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहले मानववाद (ह्युमानिज्म) नामक वृहत ग्रन्थमार्फत पाश्चात्य जगत्को त्यो दृष्टिकोणभन्दा बिलकुलै भिन्न, पौरस्त्य मौलिक र दार्शनिक धरातलमा उभिएर र पश्चिमी दृष्टिकोणप्रति पनि सुसूचित रहेर मानिसको ‘मनोशारीरिक मान्यताको मानववाद’ पस्किसकेका थिए।
जयपृथ्वीको मानववाद कुनै काल्पनिक ईश्वरीर सत्ताको विश्वासमा अडिएको चेतना होइन, न त मानवलाई वस्तु मात्रका रूपमा हेर्ने शुष्क भौतिकता हो। पाश्चात्य विश्लेषकहरूले अध्यात्म शब्द सुन्ने बित्तिकै यसलाई ‘ईश्वरवाद’ (थेइजम) वा ‘आस्था सम्प्रदाय’ (रिलिजिअस क्रिड) को बिल्ला भिराएर गर्ने आलोचनाको सर्वथाविपरीत जयपृथ्वीको मानववाद पौरस्त्य साङ्ख्य, योग र बुद्ध दर्शनको त्रिवेणी सङ्गमका रूपमा प्रतिपादित ‘प्रकृति (नेचर) र चेतना (चित्त) समन्वित अन्तर्विज्ञान’ हो।
